ULB · अध्याय 12 / 12
दानिएल 12
1“त्यो समयमा, तिम्रा मानिसहरूको रक्षा गर्ने महान् राजकुमार, मिखाएल खडा हुनेछन्। त्यहाँ विपत्तिको समय हुनेछ, जुन कुनै पनि जातिको सुरुदेखि त्यो समयसम्म कहिल्यै भएको थिएन। त्यो समयमा तिम्रा मानिसमध्ये हरेक, जसका नाम पुस्तकमा लेखिएका पाइनेछ, ती बचाइनेछन्।
2पृथ्वीको माटोमा सुतेकाहरूमध्ये धेरै जना, कोही अनन्तको जीवनको निम्ति, अनि कोही लाज र अनन्तको निन्दाको निम्ति फेरि उठ्नेछन्।
3बुद्धिमान् मानिसहरू माथि आकाशको उज्यालोझैं चम्कनेछन्, र धेरैलाई धार्मिकतामा डोर्याउनेहरू सदाको निम्ति ताराहरूझैं हुनेछन्।
4तर तिमी दानिएल, यी वचनलाई बन्द गर। अन्तको समयसम्म त्यो पुस्तकलाई मोहर लगाई राख। धेरै जना यता-उता दौडनेछन्, र ज्ञान बढ्नेछ।”
5तब, म, दनिएलले हेरें, र त्यहाँ अरू दुई जना खडा थिए। एक जना नदीको यतापट्टिको किनारमा, र एक जना नदीको अर्कोपट्टिको किनारमा खडा थिए।
6तीमध्ये एक जनाले नदीको माथि भएका मलमलको लुगा लगाउने मानिसलाई सोधे, “यी अचम्मका घटनाहरू पूरा हुन कति समय लाग्नेछ?”
7नदीमाथि भएका मलमलको लुगा लगाउने मानिसको आवाज मैले सुनें— तिनले आफ्नो दाहिने र देब्रे हात स्वर्गतिर उचाले र अनन्तसम्म रहनुहुनेको नाउँमा सपथ खाएर भने, कि त्यो एक वर्ष, दुई वर्ष, र आधा वर्षसम्म हुनेछ। आखिरीमा जब पवित्र मानिसहरूका शक्ति तोडिनेछ, तब यी सबै कुराहरू पूरा हुनेछन्।
8मैले सुनें, तर मैले बुझिनँ। यसैले मैले सोधें, “ए मेरा मालिक, यी सबै कुराहरूको परिणाम के हुनेछ?”
9तिनले भने, “ए दानिएल, तिमी आफ्नो बाटो लाग, किनभने अन्तको समय नभएसम्म यी वचनलाई बन्द गरिएका र मोहर लगाइएका छन्।
10धेरै जना शुद्ध पारिनेछन्, दागरहित बनाइनेछन्, र खारिनेछन्, तर दुष्टहरूले दुष्ट काम गर्नेछन्। दुष्टहरूमध्ये कसैले पनि बुझ्नेछैन, तर बुद्धिमान्हरूले बुझ्नेछन्।
11दैनिक होमबलि हटाइएको र पूर्ण विनाश ल्याउने घृणित थोकको स्थापना गरिएको समयदेखि, त्यहाँ १,२९० दिन हुनेछन्।
12त्यो मानिस धन्यको जो १,३३५ दिनहरूका अन्त्यसम्म पर्खकन्छ।
13अन्तसम्म तिमी आफ्नै बाटो लाग, र तिमीले विश्राम पाउनेछौ। दिनहरूका अन्तमा तिमीलाई दिइएको ठाउँमा तिमी खडा हुनेछौ।”
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org